आचारसंहिता विपरीत गतिविधिप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, असार 

कैलाश माझी : प्रेस काउन्सिल नेपाल ले पत्रकारिता आचारसंहिताविपरीत बढ्दै गएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पेसागत मर्यादा र आचारसंहिताविपरीतका गतिविधि बढ्दै गएको उल्लेख गरेको हो।

काउन्सिलका अनुसार पछिल्लो समय बिना अनुमति तथा पत्रकार परिचयपत्रबिना विभिन्न कार्यालय, शैक्षिक संस्था र कार्यक्रमस्थलमा प्रवेश गरी अमर्यादित तथा गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्ने, दुर्व्यवहारजन्य गतिविधिमा संलग्न हुने, विवाद तथा हातपातका घटनामा सहभागी भई त्यसका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति बढेको छ।

त्यस्तै अश्लील सामग्रीलाई स्थान दिने, अनलाइन न्युज पोर्टल दर्ता गरे पनि समाचार सामग्री प्रकाशन नगरी सामाजिक सञ्जालमार्फत मात्र भ्यु बढाउने उद्देश्यले सामग्री प्रसारण गर्ने तथा ‘मोनिटाइजेसन’ केन्द्रित भएर तथ्यहीन, गालीगलौजपूर्ण र आपसी झैझगडाका सामग्री सम्पादनबिनै सार्वजनिक गर्ने कार्यप्रति समेत काउन्सिलले चिन्ता व्यक्त गरेको छ।

प्रेस काउन्सिलले यस्ता गैरजिम्मेवार गतिविधिले समग्र पत्रकारिता क्षेत्रको गरिमा, विश्वसनीयता तथा स्थापित मर्यादामा गम्भीर नकारात्मक असर पारेको जनाएको छ।

विज्ञप्तिमा पत्रकारिता आचारसंहिताअनुसार पेसागत आचरण, मर्यादा र जिम्मेवार व्यवहारमा रही सत्य, तथ्य, निष्पक्ष र सन्तुलित पत्रकारिता अभ्यास गर्नुपर्ने उल्लेख गरिएको छ। यस्ता अभ्यासले मात्र पत्रकारिताको विश्वसनीयता र मर्यादा अभिवृद्धि हुने काउन्सिलको भनाइ छ।

काउन्सिलले सम्पूर्ण सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पत्रकारिताको संवेदनशीलता बुझ्दै आचारसंहिताको परिधिभित्र रही सत्य, तथ्य र जिम्मेवारीबोधका साथ सामग्री सम्प्रेषण गर्न आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।