सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
सम्मानित सुनसरी जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै न्यायिक कारबाहीलाई पूर्णता दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले २०८३ भदौ २४ गते फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार कुटपिट तथा अंगभंग मुद्दामा सुनसरीको दुहबी नगरपालिका–११ स्थायी ठेगाना भएका आशनारायण माझी अदालतबाट दोषी ठहर भएका थिए। २०८० चैत १ गते भएको फैसलाअनुसार उनलाई रु. ४ हजार जरिवाना तोकिएको थियो। फैसला कार्यान्वयन हुन बाँकी रहेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, चोरी मुद्दामा सुनसरीको हरिनगरा गाउँपालिका–८ स्थायी ठेगाना भएका मो. सम्साद मियाँ मंसुरीलाई पनि प्रहरीले पक्राउ गरेको छ। सुनसरी जिल्ला अदालतले २०७९ असार २८ गते गरेको फैसलाअनुसार उनी १६५ दिन कैद भुक्तान गर्न बाँकी रहेका थिए।
पक्राउ परेका दुवै जनालाई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रियाअनुसार अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका अन्य प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई समेत निरन्तरता दिइरहेको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।