सप्तरीमा भारी वर्षा र बाढीको जोखिम, सतर्कता अपनाउन प्रशासनको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सप्तरी, कार्तिक ११ गते ।

कैलाश माझी : नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार आगामी कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म देशका विभिन्न स्थानमा चक्रवात, मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय सप्तरीले सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार सूचना जारी गर्दै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने भन्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन र पूर्वतयारीमा जुट्न अनुरोध गरेको हो।

प्रशासनले उक्त अवधिमा अत्यन्त जरुरी कामबाहेक टाढाको यात्रा नगर्न र रातिको समयमा यात्रा गर्नबाट जोगिन आग्रह गरेको छ। जिल्लाका साना तथा ठूला खोला र नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

त्यस्तै, बाढीको जोखिम देखिएमा खोला किनारमा माछा मार्ने, काठदाउरा सङ्कलन गर्ने जस्ता कार्य नगर्न तथा आकस्मिक बाढी आउन सक्ने खोला र खहरे नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र नदीकिनारका बासिन्दालाई विशेष चनाखो रहन प्रशासनले आग्रह गरेको छ।

मौसम पूर्ण रूपमा सफा नभएसम्म धान नकाट्न र काटिसकेको धान भए समयमै सुरक्षित स्थानमा राख्नसमेत अनुरोध गरिएको छ।

प्रशासनले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल नेपालको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने जनाएको छ।

साथै, नेपाल मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना र चेतावनीसम्बन्धी जानकारी नियमित रूपमा लिन सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश महतोद्वारा जारी सूचनामा उल्लेख छ।

प्रशासनले सम्भावित विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सम्बन्धित सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।