सप्तरी, कार्तिक ११ गते ।
कैलाश माझी : सशस्त्र प्रहरी बल, नेपालले सप्तरीको सीमावर्ती क्षेत्रबाट भन्सार छली नेपाल भित्र्याइँदै गरेका करिब ४ लाख ७९ हजार रुपैयाँ मूल्यका अवैध सामान बरामद गरेको छ। साथै, एक लाख रुपैयाँभन्दा बढी मूल्यका आतसबाजी (पटका) बरामद गरी नष्ट गरेको छ।
२०८३ कात्तिक ११ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण हेडक्वार्टर सप्तरीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेका लत्ताकपडा, कुर्सी तथा विभिन्न किसिमका किराना सामान बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बरामद सामानको कुल मूल्य ४ लाख ७९ हजार ३० रुपैयाँ रहेको छ। सामान ओसारपसारमा प्रयोग गरिएका तीनवटा साइकल र एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
त्यसैगरी, टोलीले एक लाख ९३४ रुपैयाँ मूल्य बराबरका आतसबाजी (पटका) पनि बरामद गरेको छ। बरामद पटका प्रचलित कानुनबमोजिम नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
भन्सार छली ल्याइएका सामान सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण सप्तरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।