भारतबाट खैरो हेरोइन ल्याउँदै गरेको आरोपमा झापामा दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

झापा । झापामा प्रहरीले दुई राउण्ड हवाई फायर गरेर १५०.१४० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट लागूऔषध खैरो हेरोइन ल्याएर कोशी प्रदेशका विभिन्न जिल्लामा आपूर्ति गर्ने गिरोहको निगरानी गर्ने क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ कात्तिक ११ गते ब्युरोको शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–१, सालमारामा भारतको कुतुवाभिट्टाबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका व्यक्तिहरूलाई शंकाका आधारमा पहिचान गरेको थियो।

प्रहरीका अनुसार लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भारततर्फ भाग्न खोजेपछि चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरिएको थियो। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा १५०.१४० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा झापा गाउँपालिका–१ का ३० वर्षीय सलमान मियाँ र ३६ वर्षीय नसिम अख्तर मियाँ रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइनसँगै नेपाली नम्बर प्लेटको मे ७ प ३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल र भारतीय नम्बर प्लेटको बीआर ३७ एए ५३८० नम्बरको होन्डा साइन मोटरसाइकल गरी दुईवटा मोटरसाइकल तथा दुई थान मोबाइलसमेत बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध र अन्य सामानसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोद, झापामा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।