भारतबाट चोरी पैठारी गरी ल्याइएका सामानसहित मोटरसाइकल चालक प्रहरी फन्दामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज, असार १२ 

कैलाश माझी : सप्तरी प्रहरीले भन्सार छलि गरी भारतबाट ल्याइएको विभिन्न किराना सामानसहित एक जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार दिउँसो करिब १ बजे अस्थायी प्रहरी पोस्ट तितरीगाछीबाट खटिएको प्रहरी टोलीले राजविराज नगरपालिका–११ स्थित झलही नहर क्षेत्रमा सवारी चेकजाँच गर्ने क्रममा को ७ प ३९९६ नम्बरको हुण्डा युनिकोन १२५ सीसी मोटरसाइकल रोकेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकलमा भारतबाट अवैध रूपमा भन्सार छलि तथा चोरी पैठारी गरी ल्याइएका विभिन्न किराना सामान फेला परेपछि मोटरसाइकल चालक राजविराज नगरपालिका–१६ बोरिया टोल निवासी ४२ वर्षीय प्रमोद यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद गरिएका विभिन्न किराना सामान र मोटरसाइकलसहितको अनुमानित मूल्य १ लाख २० हजार ८ सय रुपैयाँ रहेको छ।

प्रहरीले बरामद सामान, मोटरसाइकल तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि असार १२ गते नै राजविराज भन्सार कार्यालय, तिलाठी, सप्तरीमा बुझाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले भन्सार छलि तथा अवैध कारोबार नियन्त्रणका लागि चेकजाँचलाई निरन्तर कडाइ गरिने बताएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।