बराहक्षेत्रको मुसहरी टोलबाट ट्रमाडोल र नाइट्रोसनसहित दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुनसरी भदौ ९ गते ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मुसहरी टोलबाट प्रहरीले लागूऔषध ट्रमाडोल २१० क्याप्सुल र नाइट्रोसन ५० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उक्त क्षेत्रमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि २०८३ भदौ ८ गते साँझ करिब ६ बजे प्रहरी चौकी भरौलबाट प्रहरी टोली परिचालन गरिएको थियो।

टोलीले मुसहरी टोलमा शंकास्पद अवस्थामा रहेका दुई जनालाई रोकी खानतलासी तथा चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–५ निवासी १८ वर्षीय मनोज मुसहर र रामधुनी नगरपालिका–५ निवासी ३० वर्षीय मनिराज राई रहेका छन्।

उनीहरूको साथबाट ट्रमाडोल २१० क्याप्सुल र नाइट्रोसन ५० ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा ल्याइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।