कैलाश माझी : चितवनको भरतपुर महानगरपालिकाबाट अपहरण गरिएका १६ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ भने एक जना फरार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार असार १ गते भरतपुर महानगरपालिका–३ निवासी १६ वर्षीय बालक दिउँसो करिब ४ बजे घरबाट हराएका थिए। सोही राति करिब ११ बजे बालकका बुवाले प्रहरीलाई जानकारी गराएका थिए।
अनुसन्धानका क्रममा सोही राति करिब १२ बजे पीडितका बुवाको मोबाइलमा फोन गरी अपहरणकर्ताले बालकको रिहाइका लागि २२ लाख रुपैयाँ फिरौती मागेका थिए। घटनाको गम्भीरता मूल्याङ्कन गर्दै प्रहरीले तत्काल अनुसन्धान तीव्र बनाएको थियो।
प्राविधिक तथा अन्य प्रमाणहरूको आधारमा अपहरणमा संलग्न व्यक्तिहरू काठमाडौंमा रहेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय चितवनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुसँग समन्वय गरी असार २ गते काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलबाट बालकको सकुशल उद्धार गरेको हो।
उद्धार अभियानका क्रममा घटनामा संलग्न ५ जनालाई होटलबाट र थप १ जनालाई भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै भारतको बिहार राज्यको बेतिया जिल्लाका बासिन्दा रहेका छन्।
पक्राउ पर्नेहरूमा १९ वर्षीय सुजित कुमार साह, १८ वर्षीय मोहम्मद साहिद, १८ वर्षीय गोलु कुमार साह, १८ वर्षीय गोलो सोनी, १९ वर्षीय विक्की पटेल र १८ वर्षीय सक्षम शर्मा रहेका छन्। घटनामा संलग्न ममताज आलम उर्फ किट्टु चौहान भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले अपहरणमा प्रयोग भएको सवारी साधनसमेत बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।