डेरा कोठाबाट ब्राउन सुगर फेला, दुई युवक नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी । सुनसरी
सुनसरीको इटहरी उपमहानगरपालिका–८ फूलबारी टोलबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ जेठ २३ गते राति करिब ८:३० बजे लागू औषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी–८ स्थित २१ वर्षीय सबिन धिमालको डेरा कोठामा खानतलासी तथा चेकजाँच गरेको थियो।

तलासीका क्रममा उक्त कोठाबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १.२३ ग्राम, नगद रु. २५ हजार ७४० तथा तीन थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट सबिन धिमाल र सोही कोठामा रहेका इटहरी–१४ निवासी २९ वर्षीय मुकेश चौधरीलाई नियन्त्रणमा लिएको छ।

बरामद लागू औषध, नगद रकम तथा मोबाइलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले पछिल्लो समय लागू औषध नियन्त्रण अभियानलाई तीव्र बनाएको भन्दै यस्ता अवैध गतिविधिविरुद्ध सूचना दिन सर्वसाधारणलाई समेत आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।