उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। ब्रेक फेल भएपछि जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रदेश ३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा चालकसहित १५ जना घाइते भएका हुन्। घाइते सबैलाई उपचारका लागि कटारी अस्पताल लगिएको थियो। उनीहरूमध्ये कटारी नगरपालिका–२ का ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।
दुर्घटनामा जिप चालक कटारी नगरपालिका–११ का २९ वर्षीय निर्पबहादुर खड्का घाइते भएका छन्। त्यस्तै, झापाको बिर्तामोड नगरपालिका–६ की ३७ वर्षीया मेनुका मगर भुजेल, उनका १४ वर्षीय छोरा रेहान भुजेल र ७ वर्षीया छोरी प्रिन्सिका भुजेल घाइते भएका छन्।
यसैगरी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ की १६ वर्षीया तेन्जु लामा, कटारी नगरपालिका–२ का ७१ वर्षीय रामबहादुर मगर, उनकी ३५ वर्षीया छोरी लिसना मगर र ६० वर्षीया गोमा श्रेष्ठ घाइते भएका छन्।
दुर्घटनामा कटारी नगरपालिका–५ की ३९ वर्षीया अम्बिका दाहाल र उनका १० वर्षीय छोरा दिक्षित दाहाल पनि घाइते भएका छन्। त्यस्तै, कटारी नगरपालिका–११ की २१ वर्षीया निर्मला राउत, २६ वर्षीया दिलकुमारी हायु र उनका २२ महिनाका छोरा दियांस हायु घाइते भएका छन्।
अन्य घाइतेमा महोत्तरीको गौशाला नगरपालिका–१ की ३५ वर्षीया कविता रेग्मी र सिन्धुलीको दुधौली नगरपालिका–११ का प्रेम पौडेलका १० वर्षीय छोरा प्रदीप पौडेल रहेका छन्।
प्रहरीका अनुसार जिप चालक खड्का सामान्य घाइते भएका छन्। उपचारपछि उनलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।