महोत्तरी, कात्तिक ९। महोत्तरीमा आवश्यक कागजातबिना ओसारपसार गरिरहेको अवस्थामा मसला जातको काठसहित एउटा ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आइतबार साँझ करिब ६ः३० बजे जलेश्वर नगरपालिका–१ स्थित माछा बजारमा काठ लोड गरिएको ट्र्याक्टर फेला परेको हो।
प्रहरीले प्राप्त सूचनाका आधारमा ज.१ त. ६४०१ नम्बरको ट्र्याक्टर रोकेर जाँच गर्ने क्रममा पछाडिको ट्रेलरमा मसला जातको काठका पात र झ्यासभित्र लुकाइछिपाइ राखिएका ६ थान गोलिया फेला पारेको जनाएको छ।
उक्त काठका सम्बन्धमा आवश्यक कागजात माग गर्दा सम्बन्धित निकायबाट अनुमति लिएको कागजात नभेटिएपछि प्रहरीले काठ, ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका चालक महोत्तरीको एकडारा गाउँपालिका–३ निवासी ४२ वर्षीय राम प्रबोध साह हुन्। उनी रामचन्द्र साहका छोरा रहेको प्रहरीले जनाएको छ।
बरामद काठ, ट्र्याक्टर र चालकलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विश्वम्भरनाथ साहद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त घटनाबारे जानकारी दिइएको हो।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।