काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले २०८३ कात्तिक ९ गते जारी गरेको पत्रमा ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्दै गुनासो आएको उल्लेख गर्दै नियुक्त विक्रेतामार्फत अनिवार्य रूपमा भ्याट बिल जारी गराएर ग्यास बिक्री–वितरणको व्यवस्था मिलाउन अनुरोध गरेको हो।
निगमले यसअघि पनि यससम्बन्धी निर्णय कार्यान्वयन गर्न २०८१ साउन ३० र २०८१ कात्तिक १० गते सम्बन्धित संघलाई पत्राचार गरेको जनाएको छ। तर, कतिपय विक्रेताले ग्यास बिक्री गरेपछि बिलबिजक जारी नगरेको गुनासो आएपछि निगमले पुनः यस्तो निर्देशन दिएको हो।
निगमका निर्देशक विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा सबै ग्यास उद्योगलाई आफ्ना विक्रेताबाट अनिवार्य रूपमा भ्याट बिल जारी हुने व्यवस्था मिलाउन आग्रह गरिएको छ।
यस व्यवस्थाले ग्यास खरिद–बिक्रीलाई व्यवस्थित बनाउनुका साथै कारोबारमा पारदर्शिता कायम गर्न र उपभोक्ताले खरिदको आधिकारिक बिल प्राप्त गर्ने व्यवस्था सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।