धनुषामा १५ महिनाका बालक अपहरण, ११ दिनपछि उद्धार; भारत भाग्दै गरेकी महिला पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनुषा, भदौ ३० गते ।

धनुषामा घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका १५ महिनाका बालकलाई प्रहरीले ११ दिनपछि सकुशल उद्धार गरेको छ। बालक अपहरण गरेको आरोपमा एक महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार विदेह नगरपालिका–६, तीनकोरियाका कमलेश महतोका १५ महिनाका छोरा सिद्धान्त महतो २०८३ भदौ १८ गते दिउँसो करिब ४ः४० बजे आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए।

बालक हराएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षक रुपेश खड्काको कमाण्डमा ६० जना प्रहरीको टोली परिचालन गरी घटनास्थल तथा आसपासका क्षेत्रमा तालिमप्राप्त कुकुरसमेतको सहयोगमा खोजतलास थालिएको थियो।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूह (PIT) को संयुक्त टोलीले खोजतलास तथा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा बालकलाई कमला नगरपालिका, हथलेट्वा बस्ने करिब ४१ वर्षीया पुनिता देव पासवानले अपहरण गरेको खुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

प्रहरीका अनुसार शंकित महिलाले बालकलाई स्थान परिवर्तन गर्दै नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाइछिपाई राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। त्यसपछि धनुषाका विभिन्न नाकामा २४ घण्टा प्रहरी परिचालन गर्नुका साथै प्राविधिक अनुसन्धानसमेत अघि बढाइएको थियो।

यसै क्रममा २०८३ भदौ २९ गते दिउँसो करिब ३ः३५ बजे शंकित महिलाले बालकलाई उसको घरबाट करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भाग्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ। तत्काल बालकको उद्धार गरी स्वास्थ्य परीक्षण गराएपछि अभिभावकको जिम्मा लगाइएको थियो। बालकको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बालकलाई छाडेर भागेकी महिलालाई प्रहरीले सोही दिन करिब ४ बजे भारततर्फ भाग्दै गरेको अवस्थामा विदेह नगरपालिका–१, महिनाथपुरस्थित दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक तथा मानव बेचबिखनसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।