धनुषा, भदौ १८ गते ।
धनुषामा प्रहरीले झाडीभित्र लुकाएर राखिएको ठूलो परिमाणको अवैध लागूऔषध गाँजा बरामद गरेको छ।
जिल्लाको नगराइन नगरपालिका–५ स्थित खिरखिरिया जाने भित्री बाटोको छेउमा रहेको झाडीबाट १०७ किलो ९९८ ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार २०८३ भदौ १८ गते राति करिब २ः३० बजे उक्त स्थानमा अवैध लागूऔषध गाँजा लुकाएर राखिएको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली उक्त स्थानमा खटिएको थियो।
प्रहरी टोलीले झाडीमा खोजतलास गर्ने क्रममा प्लास्टिकमा बेरिएका ९ पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको थियो। प्रारम्भिक रूपमा इलाका प्रहरी कार्यालय लग्माजटहीमा ल्याएर तौल गर्दा प्लास्टिकसहित गाँजाको तौल १०९ किलो रहेको थियो।
त्यसपछि बरामद गाँजा जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई प्लास्टिक हटाएर पुनः तौल गर्दा १०७ किलो ९९८ ग्राम गाँजा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। गाँजा कसले र कुन उद्देश्यले झाडीमा लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।