धनुषामा विभिन्न मुद्दाका १० जना फरार प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका १० जना प्रतिवादीलाई पक्राउ गरी धनुषा जिल्ला अदालतमा बुझाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले २०८३ असोज १२ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयनअन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएका उनीहरू वारदातपछि फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा आवश्यक समन्वय गरी उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये दुई जना सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेका छन्। उनीहरूमध्ये एक जनालाई १९ दिन कैद र २ हजार रुपैयाँ जरिवाना तथा अर्का व्यक्तिलाई ४ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

त्यस्तै, संगठित अपराध मुद्दामा दुई जनालाई जनही १ वर्ष ६ महिना कैद र ४५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। अन्य दुई जना संगठित अपराध मुद्दाका प्रतिवादीलाई जनही १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको प्रहरीले जनाएको छ।

लागूऔषध मुद्दामा दुई जना फरार प्रतिवादीलाई क्रमशः २ महिना र २३ दिन कैद सजाय तोकिएको थियो। उनीहरूलाई जरिवाना भने तोकिएको थिएन।

यसैगरी, ज्यान अंगभंग मुद्दामा एक जनालाई १ वर्ष ५ महिना ५ दिन कैद र २० हजार रुपैयाँ जरिवाना तथा सवारी ज्यान मुद्दामा अर्का एक जनालाई १ महिना १५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अदालतबाट फैसला भई कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका उनीहरूलाई खोजतलास गरी पक्राउ गरिएको हो। पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले उक्त जानकारी दिएका हुन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।