सुनसरी, साउन २९ गते।
कैलाश माझी : सुनसरीको धरान उपमहानगरपालिका–८ आकाश चोकबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध क्याप्सुल तथा ट्याब्लेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साउन २९ गते दिउँसो करिब १ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीटी र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आकाश चोकमा शंकास्पद अवस्थामा रहेका दुई जनालाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा धरान उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय मनोज पाण्डे र धरान–१५ बस्ने २२ वर्षीय पवन सापकोटाको साथबाट लागूऔषध Tramol ८७० पिस क्याप्सुल र Spaspain ८६५ पिस ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।
लागूऔषधसहित नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।