गोरखा, भदौ ६ गते ।
गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ नाल बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय आरुघाट, गोरखाबाट खटिएको प्रहरी टोलीले एसआरपी गस्ती गर्ने क्रममा चिहानडाँडा नजिकैको जंगलमा शंकास्पद अवस्थामा राखिएका भरुवा बन्दुक फेला पारेको हो।
प्रहरीका अनुसार जंगलमा सल्लाका हाँगाले छोपेर बेवारिसे अवस्थामा राखिएका एकनाले भरुवा बन्दुक ५ थान फेला परेका थिए।
बरामद भएका बन्दुकमध्ये १ थान भाँचिएको अवस्थामा र अन्य ४ थान खिया लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ।
बन्दुक कसले, किन र कुन प्रयोजनका लागि जंगलमा लुकाएर राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। बरामद हतियारका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।