इटहरीको पकलीमा जिपले सिटी सफारीलाई ठक्कर दिँदा पाँच जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इटहरी, भदौ ९ गते ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीस्थित सशस्त्र प्रहरी ब्यारेक नजिक पूर्व–पश्चिम राजमार्गमा जिपले सिटी सफारीलाई ठक्कर दिँदा चालकसहित पाँच जना घाइते भएका छन्।

मंगलबार इटहरीबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह ४२४७ नम्बरको सिटी सफारीलाई सोही दिशातर्फबाट आउँदै गरेको जिपले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा सिटी सफारी चालक इटहरी उपमहानगरपालिका–४ निवासी ४८ वर्षीय चन्द्रलाल चौधरी घाइते भएका छन्।

त्यस्तै सफारीमा सवार मोरङको सुन्दरहरैँचा नगरपालिका–७ निवासी ७२ वर्षीय भीम परियार, सोही स्थानका ९ वर्षीय प्रनिस सुनार, ३० वर्षीया प्रिङ्का सोनाम र उनकी १४ वर्षीया छोरी प्रनिसा सोनाम घाइते भएका छन्।

दुर्घटनापछि घाइते सबैलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। भीम परियार, प्रनिस सुनार, प्रिङ्का सोनाम र प्रनिसा सोनामको विराटनगरस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

सिटी सफारी चालक चन्द्रलाल चौधरीको भने स्थानीय सान्वी सिटी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न जिप र चालकको अवस्थाबारे तथा दुर्घटनाको विस्तृत कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।