इटहरी । इटहरीस्थित सेन्ट्रल प्लाजामा आगलागीपछि १६ करोड रुपैयाँ क्षति भएको भन्दै बिमा सिफारिस मागिएको छ, जसले प्रहरीलाई चकित बनाएको छ।
गत चैत १३ गते प्लाजाको पाँचौं तलामा आगलागी हुँदा सिनेमाहल र होटल क्षेत्र केही प्रभावित भए पनि प्रहरीको प्रारम्भिक अध्ययनमा क्षति अनुमानभन्दा धेरै कम देखिएको छ।
प्लाजा सञ्चालकले २७ दिनपछि मात्र क्षतिको विवरण पेश गरेका थिए, त्यो पनि सर्वेयरको प्रतिवेदन बिना।
सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले घटनामा शंका उत्पन्न भएको र गहिरो अनुसन्धान भइरहेको बताए। बिमा कम्पनीले पनि विस्तृत अध्ययनपछि मात्रै भुक्तानी निर्णय हुने जनाएको छ।
प्लाजाको बिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा गरिएको छ । सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिना ठूलो रकम उल्लेख गरेर बिमा दाबीका लागि सिफारिस मागिएपछि अन्योलमा परिएको बताउँछन् । दाबी गरिएजति क्षति भएको हो कि हैन भनेर अनुसन्धान भइरहेको उनले बताए । प्लाजा सञ्चालकले घटनाको सुरुवातदेखि शंकास्पद व्यवहार देखाउँदै आएको प्रहरीको भनाइ छ ।
एसपी तिम्सिना प्लाजाका सञ्चालकसँग सम्पर्क स्थापित गरेर वास्तविक क्षतिको विवरण बुझ्ने काम भइरहेको बताउँछन् । वास्तविक क्षतिका आधारमा मात्रै बिमाको सिफारिस गरिने उनको भनाइ छ । ‘बजारमा अनेक हिसाबले कुरा आइरहेका छन् । आगलागी पीडितको भूमिका पनि त्यस्तै देखिन्छ । के हो भनेर वास्तविक कुरा बुझ्दैछौं,’ तिम्सिनाले भने ।
आगलागी नियोजित थिए कि भन्ने आशंका प्रहरीको अनुसन्धानको केन्द्रमा रहेको छ। दोषी भेटिए कारबाही हुने चेतावनी समेत प्रहरीले दिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।