सुनसरी, साउन २९ गते।
कैलाश माझी : सुनसरीको इटहरी उपमहानगरपालिका–१० शिवनारायण टोलबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थ र नगद रकमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साउन २९ गते दिउँसो करिब ३ बजे उक्त स्थानमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको पीआईटी र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले इटहरी–१० बस्ने ४१ वर्षीय मोहन गुरुङको घरमा खानतलासी तथा चेकजाँच गर्दा गुरुङसहित सोही स्थान बस्ने ४९ वर्षीया कुमारी राई (गुरुङ) र इटहरी–४ बस्ने अर्जुन काफ्लेलाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ ५.८५ ग्राम र नगद १८ हजार ५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
लागूऔषधजस्तो देखिने पदार्थ तथा नगदसहित नियन्त्रणमा लिइएका तीनै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।