जनआस्थाबाट जफत गरिएका सञ्चार सामग्री तत्काल फिर्ता गर्न महासंघको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायत सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासंघले संविधानको धारा १९ को उपधारा २ ले कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य सामग्री प्रकाशन वा प्रसारण गरेकै आधारमा सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज गर्न तथा त्यस्तो सामग्री जफत गर्न नपाइने स्पष्ट व्यवस्था गरेको उल्लेख गरेको छ।

उक्त संवैधानिक प्रावधानविपरीत सम्पादकीय कक्षमा हातहतियारसहित प्रहरी प्रवेश गरी सञ्चार उपकरण तथा सामग्री नियन्त्रणमा लिएर जफत गर्नु पहिलो दृष्टिमै संविधानप्रदत्त प्रेस स्वतन्त्रता र सञ्चारको हकमाथिको गम्भीर हस्तक्षेप भएको महासंघको ठहर छ।

महासंघले समाचार स्रोतमा पहुँच राख्ने उद्देश्यले राज्य संयन्त्रबाट अपनाइएको यस्तो शैली असंवैधानिक र गैरकानुनी भएको जनाएको छ। यस प्रकारको कार्यले समग्र प्रेस स्वतन्त्रतासँगै नागरिकको सूचनाको हकमासमेत प्रत्यक्ष असर पार्ने महासंघको भनाइ छ।

महासंघले राज्यबाट संवैधानिक हकमाथि भएको अतिक्रमणको घोर निन्दा तथा भर्त्सना गर्दै जफत गर्ने नियतले नियन्त्रणमा लिइएका सम्पूर्ण सञ्चार सामग्री अविलम्ब फिर्ता गर्न माग गरेको छ।

साथै संविधानको पूर्ण पालना गर्न, समाचारका स्रोत तथा सम्पादकीय सामग्रीको गोपनीयता सुरक्षित गर्न र सञ्चारमाध्यमलाई स्वतन्त्र एवं निर्भीक रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न महासंघले राज्यसँग जोडदार माग गरेको छ।

यसै सन्दर्भमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा रहेको टोलीले शुक्रबार जनआस्था साप्ताहिकको कार्यालय निरीक्षण गरेको छ। टोलीले प्रहरीद्वारा नियन्त्रणमा लिइएका सञ्चार सामग्री तथा त्यसबाट जनआस्थाको प्रकाशनमा परेको प्रभावबारे जानकारी लिएको महासंघले जनाएको छ।

महासंघले पत्रकारको सूचना तथा समाचार स्रोतसम्मको पहुँचमा राज्य संयन्त्रको दुरुपयोग गरी गरिएको नियन्त्रणको विरोधमा एकजुट हुन प्रेस स्वतन्त्रतापक्षधर सम्पूर्ण नागरिक तथा समुदायलाई आग्रह गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रता र सञ्चारको संवैधानिक अधिकारको संरक्षणका लागि महासंघ निरन्तर खबरदारीमा रहने उल्लेख गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।