सप्तकोशी : ज्योति विकास बैंक लिमिटेडका कर्मचारीहरूले आफूहरूमाथि नियोजित रूपमा दुर्व्यवहार तथा ज्यान मार्ने उद्देश्यले आक्रमण भएको भनी लगाएको आरोपप्रति सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रा. लि. ले कडा आपत्ति जनाउँदै उक्त आरोपको खण्डन गरेको छ।
फार्म व्यवस्थापनले जारी गरेको विज्ञप्तिमा ज्योति विकास बैंक, रुपनी शाखाबाट ऋण लिई विगत चार वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएको र यस अवधिमा नियमित रूपमा किस्ता रकम भुक्तानी गरिएको उल्लेख छ। चालु आर्थिक वर्षमा केही महिनाको किस्ता बक्यौता रहे पनि बैंकसँग निरन्तर सम्पर्क तथा संवादमा रही ऋण चुक्ता गर्ने प्रक्रिया अगाडि बढिरहेको जनाइएको छ।
विज्ञप्तिअनुसार, सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्मको सम्पूर्ण चल–अचल सम्पत्ति तथा दायित्व हस्तान्तरण हुने गरी अर्को कम्पनीसँग खरिद–बिक्रीसम्बन्धी समझदारी भई प्रक्रिया अघि बढिरहेको थियो। यसै सन्दर्भमा मिति २०८२ मङ्सिर १ गते सम्बन्धित कम्पनीका प्रतिनिधिसहित फार्म पक्षले ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, कमलादी काठमाडौँ पुगेर ऋण असुली विभाग प्रमुख विकास रानाभाटसँग भेट गरी ऋणको सम्पूर्ण विवरण लिई पुष मसान्तभित्र साँवा तथा ब्याजसहित सम्पूर्ण ऋण चुक्ता गर्ने जानकारी गराइएको उल्लेख छ।
तर ऋण चुक्ता गर्ने प्रक्रिया जारी रहँदा पनि बैंकका कर्मचारीहरूले बजारका चोक–चोक, पसल तथा विद्यालय क्षेत्रसम्म पुगेर धितो जमानी रहेका जग्गाहरू लिलामीका लागि प्रचार–प्रसार गरेको आरोप फार्म पक्षको छ। मङ्सिर १९ गते पत्रिकामार्फत ७ दिने लिलामी सूचना प्रकाशित गर्नुका साथै धितो जमानीमा रहेका जग्गाहरूको भिडियो बनाई बैंकको टिकटक खाताबाट सार्वजनिक गरिएको कार्यले सामाजिक चरित्र हत्या र मानसिक यातना दिएको विज्ञप्तिमा दाबी गरिएको छ।
फार्म व्यवस्थापनले सप्तरी जिल्ला अदालतबाट धितो जमानी रोक्का बदरसम्बन्धी मुद्दामा ती जग्गाहरूको लिलामी प्रक्रिया तत्काल रोक्न आदेश भइसकेको पनि जनाएको छ।
घटनाका विषयमा स्पष्ट पार्दै फार्म पक्षले बैंकका कर्मचारीहरू अन्य केही व्यक्तिसहित फार्ममा आउँदा त्यहाँ संचालक, परिवारका सदस्य तथा स्थानीय कामदारहरू उपस्थित रहेको जनाएको छ। जग्गा निरीक्षणका क्रममा टिकटकमा सार्वजनिक भिडियोको विषयमा सामान्य भनाभन भएको र सो क्रममा बैंकका कर्मचारीतर्फबाट महिलामाथि अशोभनीय शब्द प्रयोग भएपछि वातावरण तनावग्रस्त बनेको विज्ञप्तिमा उल्लेख छ। स्थानीय भीड जम्मा भएसँगै परिस्थिति अप्रत्याशित रूपमा विकसित भए पनि यो घटना नियोजित नभएको र ज्यान मार्ने उद्देश्यले आक्रमण नगरिएको दाबी गरिएको छ।
अन्त्यमा सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रा. लि. ले आफूहरूविरुद्ध प्रहरीमा दर्ता गरिएको जाहेरी आधारहीन रहेको भन्दै तत्काल फिर्ता लिन सम्बन्धित निकायसँग माग गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।