कप्तानगञ्ज घटनामा सरकार गम्भीर, सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं,साउन १२।

कैलाश माझी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटना तथा त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिप्रति नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै घटनाका क्रममा मृत्यु भएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

सरकारले घटनामा घाइते भएकाहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको जनाएको छ। विज्ञप्तिअनुसार घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गर्नेछ।

कप्तानगञ्ज घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको र समितिले आफ्नो काम प्रारम्भ गरिसकेको सरकारले जनाएको छ। समितिलाई घटनाको वास्तविकता छानबिन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अवलम्बन गर्नुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।

नेपाल सरकारले घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

सरकारले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। नेपाली समाजले सदियौँदेखि अवलम्बन गर्दै आएको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्न सरकारको अपिल छ।

त्यस्तै, धार्मिक तथा साम्प्रदायिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना फैलाउने वा भ्रामक सूचना प्रसार नगर्न र सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइएका भ्रामक सूचनाबाट प्रभावित नहुन सरकारले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

वर्तमान परिस्थितिमा मुलुकमा शान्ति, सुव्यवस्था तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारका तर्फबाट सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, आमसञ्चार माध्यम तथा सम्पूर्ण जनसमुदायलाई सहयोग गर्न हार्दिक आह्वानसमेत गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा सरकार घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।