विराटनगर, असोज १७ । कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार, असोज १६ गते सुनसरी, झापा र पाँचथरमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा लागूऔषध बरामद गर्नुका साथै ७ जनालाई पक्राउ गरिएको हो।
सुनसरीको हरिनगरा गाउँपालिका–७ बाँसघारीबाट बेवारिसे अवस्थामा रहेको ६१ किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त गाँजा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT टोली र प्रहरी चौकी घुस्कीहाटको टोलीले बरामद गरेको हो।
त्यस्तै, झापाको बिर्तामोड नगरपालिका–४ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले प्र.१–०१–००२ ह ३२७५ नम्बरको सिटी नियन्त्रणमा लिएको थियो।
सिटी जाँच गर्ने क्रममा ७ ग्राम ०७ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। घटनामा सिटी चालक मोरङको कटहरी गाउँपालिका–४ का निजाम मिया, सिटीमा सवार सुगन्दा मण्डल र इलामकी लक्ष्मी दर्जी पक्राउ परेका छन्।
यस्तै, पाँचथरको फिदिम नगरपालिका–१ बाट जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ५४० ट्याब्लेट बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार उक्त औषधि बिक्री–वितरणमा संलग्न रहेको आरोपमा हिलिहाङ गाउँपालिका–७ का उज्वल तिम्सिनासहित ३ जना बालकलाई नियन्त्रणमा लिइएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।