महोत्तरी, भदौ ३० गते ।
कैलाश माझी : महोत्तरीमा एक युवकको हत्या गरी शवलाई टुक्राटुक्रा बनाएर सेफ्टी ट्याङ्कीमा लुकाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भंगहा नगरपालिका–६ का २२ वर्षीय विवेक कुमार सरदार भदौ १५ गतेदेखि सम्पर्कविहीन भएका थिए। उनी जलेश्वर नगरपालिका–११ पिगौनस्थित दिदीको घरबाट मोटरसाइकल लिएर आफ्नो घरतर्फ हिँडे पनि घर नपुगेपछि परिवारले भदौ १६ गते प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए।
प्रहरीले हुलिया परिपत्रसँगै सीसीटीभी फुटेज, प्राविधिक विश्लेषणलगायतका माध्यमबाट अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा सरदार भदौ १५ गते बलवा नगरपालिका–७ बनौटा गाउँ क्षेत्रबाटै हराएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सरदारको बलवा नगरपालिका–७ बस्ने जितेन्द्र कुमार ठाकुरकी २२ वर्षीया श्रीमती सोनु कुमारी ठाकुरसँग प्रेम सम्बन्ध रहेको र यही विषयलाई लिएर योजना बनाई उनलाई झुक्याएर घरमा बोलाइएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा बोलाएपछि सरदारको हत्या गरी शव लुकाउने उद्देश्यले फलामको दाउलगायतका हतियार प्रयोग गरी शरीरलाई ९ टुक्रा बनाइएको थियो। त्यसपछि शवका टुक्राहरू घरपछाडिको शौचालयको सेफ्टी ट्याङ्कीमा लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भदौ २६ गते चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बलवा नगरपालिका–७ बनौटा टोलका ५८ वर्षीय अशोक कुमार ठाकुर, सोही ठाउँकी २२ वर्षीया सोनु कुमारी ठाकुर, ५० वर्षीया रामकली देवी ठाकुर र महोत्तरी नगरपालिका–५ का २८ वर्षीय सियाराम शर्मा रहेका छन्।
प्रहरीले पक्राउ परेका चारै जनालाई महोत्तरी जिल्ला अदालतबाट पक्राउ मितिदेखि लागू हुने गरी ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले घटनाको कारण, योजनामा संलग्नता तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।