मोरङ,साउन १२।
कैलाश माझी : जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र अर्को सूचना जारी नभएसम्म डिजे प्रयोगमा पूर्ण रूपमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार एक सूचना जारी गर्दै जिल्लाभित्र आयोजना हुने कुनै पनि मेला, महोत्सव, विवाह तथा विभिन्न समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कार्यक्रम तथा अन्य कुनै पनि स्थानमा डिजे प्रयोग नगर्न तथा नगराउन निर्देशन दिएको हो। कार्यालयले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न निषेध गरिएको उल्लेख छ।
प्रशासनको निर्देशनविपरीत कसैले डिजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लावासीको जानकारीका लागि सूचना जारी गर्दै प्रशासनको निर्णय पालना गर्न सबैमा आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पर्वनराज कोइरालाद्वारा जारी सूचनामा डिजेको प्रयोगबाट हुन सक्ने सम्भावित अशान्ति तथा सामाजिक सद्भावमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ।
प्रशासनको यो निर्णयसँगै अब मोरङ जिल्लाभित्र हुने विभिन्न सार्वजनिक तथा निजी कार्यक्रमहरूमा समेत अर्को सूचना जारी नभएसम्म डिजे प्रयोग गर्न नपाइने भएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।