महोत्तरी,भदौ ५ गते ।
कैलाश माझी : महोत्तरीको गौशाला नगरपालिका–१ स्थित विश्वकर्मा चोकमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ।
गौशाला–माइस्थान सडकखण्डमा बाटो काट्ने क्रममा गौशाला नगरपालिका–१ वानटोल बस्ने अन्दाजी ५ वर्षीय आदित्य कुमार महतोलाई मोटरसाइकलले ठक्कर दिएको थियो।
प्रहरीका अनुसार गौशालाबाट माइस्थानतर्फ जाँदै गरेको ज.७ प.३७८ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
दुर्घटनापछि घाइते बालकलाई तत्काल शुभ स्वस्तिक अस्पताल, बर्दिबास लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जनकपुरतर्फ पठाइएको थियो।
जनकपुरस्थित न्युरो अस्पतालबाट थप उपचारका लागि बालकलाई मेडिसिटी अस्पताल, ललितपुर रिफर गरिएको थियो। तर, मेडिसिटी अस्पतालमा उपचारका क्रममा आदित्यको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक गौशाला नगरपालिका–८ बेलगाछी बस्ने अन्दाजी ४१ वर्षीय दिलीप कुमार खड्कालाई इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। चालकलाई इलाका प्रहरी कार्यालय गौशालामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।