मलंगवा, १६ भदौ ।
कैलाश माझी : सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरेको घटनामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
प्रधानाध्यापकलाई कुटपिट तथा सवारीसाधन तोडफोड गरिएको भन्दै फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमा भिडियो सामग्री प्रसारित भएपछि जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीको ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विद्यालयभित्र सरसफाइ गराउने विषयमा प्रधानाध्यापकले विद्यार्थीलाई गालीगलौज तथा दुर्व्यवहार गरेको भनिएको विषयलाई लिएर विद्यार्थी र शिक्षकबीच छलफल भइरहेको अवस्थामा विवाद भएको थियो।
सोही क्रममा विद्यालयका प्रधानाध्यापक बलरा नगरपालिका–४ बस्ने ५५ वर्षीय वीरेन्द्र झामाथि कुटपिट भएको प्रहरीले जनाएको छ। कुटपिटबाट झा सामान्य घाइते भएको तथा सवारीसाधनसमेत तोडफोड भएको प्रहरीको भनाइ छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बलरा नगरपालिका–२ बस्ने २० वर्षीय अभिषेक कापडलाई तत्काल नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान तथा अनुसन्धान गरिरहेको जनाएको छ। सामाजिक सञ्जालमा प्रसारित भिडियो सामग्रीका सम्बन्धमा समेत प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।