काठमाडौं, भदौ १० गते ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ५० भन्दा बढी नागरिकको मृत्यु भएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्। बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै प्रधानमन्त्री शाहले प्रभावित नागरिकको उद्धार, उपचार र राहतलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन्।
प्रधानमन्त्री शाहले बाढीमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। घाइते तथा अस्पतालमा उपचाररत नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले प्रभावित नागरिकलाई सरकार एक्लै नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बाढीको खबर प्राप्त भएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बसेको र त्यसपछि राष्ट्रिय परिषद् तथा मन्त्रिपरिषद्को बैठकमार्फत उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाउने निर्णय गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
उद्धार तथा खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र उद्धार गरिएका घाइतेलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको प्रधानमन्त्रीको भनाइ छ।
घाइतेको निःशुल्क तथा सहज उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको जनाइएको छ। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत आकस्मिक उपचारका लागि तयारी अवस्थामा राखिएको छ।
प्रभावित क्षेत्रमा मेडिकल टोली परिचालन गरिएको छ। राष्ट्रिय ट्रमा सेन्टर तथा विभिन्न सुरक्षा निकायबाट चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली प्रभावित क्षेत्रमा पठाइएको छ। नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत संस्थाबाट समेत चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री पठाइएको प्रधानमन्त्री शाहले बताएका छन्।
आपत्कालीन स्वास्थ्य सेवा, औषधि तथा रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब तथा नेपाल स्काउटलगायत संस्थासँग समन्वय भइरहेको सरकारको भनाइ छ।
प्रधानमन्त्रीका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित क्षेत्र हुन्।
यी क्षेत्रमा प्रभावित परिवारलाई तत्काल खानेकुरा, सफा खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था गर्ने तयारी गरिएको छ।
त्यस्तै, बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनालाई प्राथमिकताका साथ पुनर्निर्माण गर्ने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने प्रधानमन्त्री शाहले बताएका छन्।
प्रधानमन्त्री शाहले बेपत्ता नागरिकको खोजीलाई अझ तीव्र पारिने, घाइते तथा मृतकको थप विवरण संकलन गरिने र बाढीबाट भएको क्षतिको विस्तृत विवरण तयार पारिने जानकारी दिएका छन्। रातभर पनि उद्धार तथा खोजी कार्य जारी रहने उनको भनाइ छ।
बाढी प्रभावित नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कठिन परिस्थितिमा उनीहरू एक्लो नभएको बताउँदै राज्य आफ्ना सम्पूर्ण स्रोत र साधनसहित प्रभावितको साथमा रहेको बताएका छन्।
उनले सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको उद्धार तथा राहत अभियानमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेका छन्।
“पीडित दाजुभाइ–दिदीबहिनीलाई पुनः सामान्य जीवनमा फर्काउनु अहिलेको मुख्य जिम्मेवारी हो,” प्रधानमन्त्री शाहले भनेका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।