सप्तरी, साउन २६ गते।
कैलाश माझी : नेपाल प्रहरी सेवाको जनपद प्रहरी समूहतर्फ प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा भएका मदनबहादुर यादवलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल काठमाडौंको च.नं. ४६५, मिति २०८३/०४/२१ गतेको पत्र आदेश तथा नेपाल सरकार, गृह मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार यादव प्रहरी निरीक्षक पदमा बढुवा भएका हुन्।
बढुवा भएका प्रहरी निरीक्षक यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रुपक खड्काको प्रमुख आतिथ्यतामा मंगलबार दर्ज्यानी चिन्ह प्रदान गरी सुशोभन गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, प्रहरी जवानलगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रहरी उपरीक्षक खड्काले बढुवा भएका प्रहरी निरीक्षक यादवलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतिसँगै जिम्मेवारीसमेत थपिएको बताए। उनले आगामी दिनमा अझ बढी व्यावसायिक, इमानदार, सक्रिय र जिम्मेवार भएर संगठन, राज्य तथा नागरिकप्रतिको दायित्व निर्वाह गर्न निर्देशन दिए।
प्रहरी उपरीक्षक खड्काले पदअनुसारको जिम्मेवारी र जवाफदेहितालाई उच्च प्राथमिकतामा राख्दै कानूनको प्रभावकारी कार्यान्वयन, नागरिकमैत्री प्रहरी सेवा र संगठनको गरिमा कायम राख्न प्रहरी निरीक्षक यादवलाई आग्रहसमेत गरे।
दर्ज्यानी चिन्हद्वारा सुशोभन भएपछि प्रहरी निरीक्षक यादवले संगठनले दिएको जिम्मेवारीलाई इमानदारी, अनुशासन र व्यावसायिकताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागी प्रहरी अधिकृत तथा कर्मचारीहरूले समेत प्रहरी निरीक्षक यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।