पर्सा, भदौ ७ गते ।
पर्साको छिपहरमाई गाउँपालिका–५ स्थित भिष्वा चेक प्वाइन्टबाट प्रहरीले ५ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
आइतबार दिउँसो करिब १ः४५ बजे नेपालबाट भारततर्फ जाने सवारीसाधन तथा पैदल यात्रुको चेकजाँच गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले शंकास्पद अवस्थामा भारततर्फ जाँदै गरेको BR05-5-5953 नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकलको ट्यांकीमुनि लुकाइछिपाइ राखिएको अवस्थामा ५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ पर्नेमा भारतको बिहार, पश्चिम चम्पारण जिल्ला, बेतिया, मझौलिया थाना निवासी ५० वर्षीय दिनेश महतो र सोही स्थानका ५२ वर्षीय छोटेलाल महतो रहेका छन्।
प्रहरी चौकी भिष्वा र सशस्त्र प्रहरी बल नेपाल बीओपी भिष्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
बरामद भएको ५ किलो गाँजा र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार लागूऔषधको ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिमाथि निगरानी बढाउँदै सीमावर्ती क्षेत्रमा चेकजाँचलाई थप कडाइ गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।