कैलाश माझी
सप्तरी, असार २० ।
सप्तकोशी नगरपालिकाले बालबालिकालाई खोपबाट बच्न सकिने रोगहरूबाट सुरक्षित राख्ने राष्ट्रिय अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा सम्पन्न गरेको छ। शुक्रबार नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
"स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता" भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रमले स्थानीय सरकार, स्वास्थ्य क्षेत्र र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रमको प्रभावकारिता, अभिभावकको जिम्मेवारी, समुदायको सहभागिता तथा स्थानीय तहको दायित्वबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति सप्तरीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष शिवनारायण साहले परम्पराअनुसार पानसमा दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटनपछि बोल्दै उनले नेपाल सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय खोप कार्यक्रम जनस्वास्थ्यको सबैभन्दा सफल र प्रभावकारी अभियानमध्ये एक भएको उल्लेख गरे। उनले प्रत्येक बालबालिकाले समयमै सबै खोप प्राप्त गर्नुपर्नेमा जोड दिँदै स्थानीय तह, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकबीचको समन्वयलाई अझ प्रभावकारी बनाउन आग्रह गरे।
कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख रीता चौधरीले गरेकी थिइन्। अध्यक्षीय मन्तव्यका क्रममा उनले पूर्ण खोप सुनिश्चितता घोषणा कुनै औपचारिक कार्यक्रम मात्र नभई प्रत्येक बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण अभियान भएको बताइन्। उनले नगरपालिकाले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण सिर्जना गर्न आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरिन्।
विशिष्ट अतिथि तथा स्वास्थ्य कार्यालय राजविराजका जनस्वास्थ्य अधिकृत हिरेन्द्र प्रसाद साहले वैज्ञानिक रूपमा प्रमाणित खोपले बालबालिकालाई पोलियो, दादुरा, रुबेला, निमोनिया, क्षयरोग, डिप्थेरिया, टिटानस, लहरेखोकी लगायतका घातक रोगबाट जोगाउने भएकाले खोपप्रति कुनै भ्रम नराख्न अभिभावकलाई आग्रह गरे। उनले खोप कार्यक्रमलाई सफल बनाउन स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा राखे।
कार्यक्रममा सी.अनमी अधिकृत मनोरमा यादवले पूर्ण खोप कार्यक्रमको वर्तमान अवस्था, उपलब्धि र आगामी कार्ययोजनाबारे जानकारी गराएकी थिइन्। सी.अहेव अधिकृत गिरधारी प्रसाद साहले नियमित खोप सेवाको प्रभावकारिता तथा छुटेका बालबालिकाको खोजी गरी खोप अभियानलाई शतप्रतिशत सफल बनाउनुपर्ने आवश्यकता औंल्याए।
महिला स्वास्थ्य स्वयंसेविका देवी जोशीले घरदैलो स्तरमा स्वास्थ्य स्वयंसेविकाले निर्वाह गर्दै आएको भूमिकाबारे प्रकाश पार्दै प्रत्येक अभिभावकले आफ्ना बालबालिकाको खोप कार्ड सुरक्षित राखी तोकिएको समयमा सबै खोप लगाउनुपर्ने बताइन्।
त्यसैगरी नगरपालिकाका प्रशासन प्रमुख दीपेन्द्र साहले स्वास्थ्य र शिक्षा स्थानीय सरकारका प्राथमिक क्षेत्र भएकाले नगरपालिकाले आवश्यक प्रशासनिक तथा व्यवस्थापकीय सहयोग निरन्तर उपलब्ध गराउँदै आएको जानकारी दिए। स्वास्थ्य शाखाका पूर्व शाखा प्रमुख महेश चौधरीले विगतदेखि हालसम्म पूर्ण खोप अभियानमा प्राप्त उपलब्धिको समीक्षा गर्दै अभियानलाई दिगो बनाउन समुदायको सहभागिता अझ सशक्त हुनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा वडा अध्यक्ष देवकान्त गोजेवार र वडा अध्यक्ष गोसाई चौधरीले आफ्नो वडाभित्र कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै जनचेतना अभिवृद्धिका कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताए।
वक्ताहरूले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बीसीजी (BCG), ओपीभी (OPV), पेन्टाभ्यालेन्ट, आईपीभी (IPV), पीसीभी (PCV), रोटाभाइरस तथा दादुरा–रुबेला (Measles/Rubella) लगायतका सबै खोप १५ महिनाभित्र अनिवार्य रूपमा पूरा गराउनुपर्नेमा जोड दिएका थिए। उनीहरूका अनुसार समयमै खोप लगाएमा बालबालिकाको मृत्युदर घट्नुका साथै दीर्घकालीन स्वास्थ्य जोखिमसमेत न्यून हुने भएकाले खोप अभियानलाई निरन्तरता दिनु आवश्यक छ।
कार्यक्रम सञ्चालन सप्तकोशी नगरपालिकाका सी.अहेव अधिकृत जीवछ प्रसाद साहले गरेका थिए। उनले कार्यक्रमको उद्देश्य, उपलब्धि तथा पूर्ण खोप सुनिश्चितताका लागि नगरपालिकाले गरेका प्रयासबारे जानकारी गराएका थिए। कार्यक्रमको समापन गर्दै नगर उपप्रमुख रीता चौधरीले पूर्ण खोप सुनिश्चितता अभियानलाई सफल बनाउन योगदान पुर्याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरिन्।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारी, स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी तथा विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले "पूर्ण खोप, सुरक्षित भविष्यको आधार" भन्ने सन्देशलाई व्यवहारमा उतार्दै नगरपालिकाभित्र जन्मिने प्रत्येक बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअनुसार समयमै सबै खोप प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।
नगरपालिकाले आगामी दिनमा नियमित अनुगमन, अभिभावकमा जनचेतना अभिवृद्धि, छुटेका बालबालिकाको खोजी तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै पूर्ण खोप अभियानलाई अझ प्रभावकारी र दिगो बनाउने जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।