काठमाडौं, १६ भदौ।
लमजुङस्थित रेडियो भोटेवडारका पत्रकार बासुदेव थापाविरुद्ध फौजदारी कारबाहीका लागि निवेदन दर्ता गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।
महासंघका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने क्रममा प्राविधिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खातामा रकम जम्मा भएको विषय पत्रकार थापाले उठाएका थिए।
उक्त विषयलाई लिएर रास्वपा लमजुङले प्रमुख जिल्ला अधिकारीमार्फत पत्रकार थापाविरुद्ध फौजदारी कारबाही प्रक्रिया अगाडि बढाएको महासंघको लमजुङ शाखाले जनाएको छ।
रकम गलत खातामा जम्मा भएको विषयमा आवश्यक छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्नेमा त्यसको साटो पत्रकारमाथि फौजदारी कारबाहीको प्रक्रिया अघि बढाइएको भन्दै महासंघले आपत्ति जनाएको छ।
महासंघले पत्रकारमाथि अपनाइएको उक्त शैलीको निन्दा गर्दै घटनाको आवश्यक छानबिन गर्न सम्बन्धित पक्षसँग माग गरेको छ।
त्यस्तै, पत्रकार थापामाथि लगाइएको आरोप फिर्ता लिन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षलाई महासंघले आग्रह गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारले सार्वजनिक सरोकारको विषय उठान गरेकै आधारमा फौजदारी कारबाहीको प्रक्रिया अघि बढाइनु प्रेस स्वतन्त्रताको दृष्टिले गम्भीर विषय भएको उल्लेख गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।