काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलालाई सम्पर्क गरी आफूलाई ‘ह्याकर’ भएको बताउँदै नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको दाबी गरेर रकम असुल गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–सल्यानथान बस्ने २३ वर्षीय कमल बहादुर बुढा रहेका छन्।
प्रहरीका अनुसार बुढाले सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरेका थिए। आफू ‘ह्याकर’ भएको बताउँदै उनले महिलाका नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको भन्दै रकम माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
रकम नदिए ती तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिँदै उनले पटक–पटक रकम माग गरेको प्रहरीले जनाएको छ। पीडित महिलाबाट रु. ९ लाख ९५ हजार रकम लिएको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान अघि बढाएको थियो।
सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुढालाई फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।
प्रहरीले सामाजिक सञ्जालमा व्यक्तिगत तस्बिर तथा भिडियोको दुरुपयोग गरी धम्की दिने, ब्ल्याकमेल गर्ने वा रकम असुल्ने गतिविधि साइबर अपराधसँग जोडिन सक्ने भएकाले यस्ता घटनामा पीडितले डर नमानी तत्काल प्रहरीमा सूचना दिन आग्रह गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।