काठमाडौं । काठमाडौं महानगरपालिका–८, पशुपतिस्थित १५ नं. शिवालयमा भएको हत्या घटनामा संलग्न रहेको आरोपमा एक जना अभियुक्तलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८२ फागुन ६ गते काठमाडौं महानगरपालिका–८ स्थित १५ नं. शिवालयमा संखुवासभा घर भएका सन्तोष गिरी भन्ने सन्तोष परियार मृत अवस्थामा फेला परेका थिए। घटनापछि प्रहरीले हत्या सम्बन्धी अनुसन्धानलाई तीव्र बनाएको थियो।
अनुसन्धानका क्रममा उक्त हत्यामा संलग्न रहेको आरोपमा धादिङ जिल्ला, त्रिपुरासुन्दरी गाउँपालिका–५ निवासी दर्बेनाथ भन्ने सुविन रानामगर लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। फरार रहेका रानामगरलाई महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरिएको हो।
लामो समयदेखि फरार रहेका अभियुक्तलाई विशेष सूचनाका आधारमा खोजी गर्दै गएको प्रहरी टोलीले अन्ततः महोत्तरीबाट नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
पक्राउ परेका सुविन रानामगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। घटनाको कारण, हत्या हुनुको पृष्ठभूमि तथा अन्य सम्भावित संलग्न व्यक्तिबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो घटनाले पशुपति क्षेत्रको शिवालयमा भएको रहस्यमय मृत्यु प्रकरणलाई नयाँ मोड दिएको छ भने पक्राउ परेका अभियुक्तमाथि थप प्रमाण संकलन र कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ। प्रहरीले घटनाको सम्पूर्ण सत्यतथ्य सार्वजनिक गर्न अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।