सप्तरी, असार १०
कैलाश माझी : सप्तकोशी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै १७औँ नगरसभा अधिवेशन सम्पन्न गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित नगरसभाले आगामी आर्थिक वर्षका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सामाजिक सुरक्षा, महिला सशक्तीकरण तथा पूर्वाधार विकासका विविध योजनालाई समेटेर बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो।
नगर प्रमुख तथा सभा अध्यक्ष कृष्ण प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न नगरसभाको उद्घाटन मधेश प्रदेश सरकारका निवर्तमान गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल, निवर्तमान नगर प्रमुख उत्तम कुमार शर्मा, ११ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सहकारी संस्था, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरू, सुरक्षा निकाय, पत्रकार, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भ राष्ट्रगानबाट गरिएको थियो भने देश तथा समाजका लागि योगदान पुर्याएका व्यक्तित्वहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूलाई गम्छा र ब्याचद्वारा सम्मान गरिएको थियो। नगरसभा सदस्य सीता कुमारी चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै स्थानीय सरकारको प्रभावकारिता नगरसभाबाट पारित हुने नीति तथा कार्यक्रमको सफल कार्यान्वयनमा निर्भर रहने बताइन्।
विकास र समृद्धिको मार्गचित्र प्रस्तुत
नगर प्रमुख तथा सभा अध्यक्ष कृष्ण प्रसाद ढकालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सप्तकोशी नगरपालिकालाई कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, खेलकुद तथा स्वरोजगारका क्षेत्रमा आत्मनिर्भर र समृद्ध बनाउने लक्ष्य लिइएको बताए।
उनले सीमित स्रोत र साधनका बाबजुद जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको उल्लेख गरे। नगर प्रमुख ढकालले नगरवासीको जीवनस्तर उकास्न शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष लगानी, कृषि उत्पादन वृद्धि, आधुनिक खेती प्रणालीको प्रवर्द्धन, पशुपालन व्यवसायको विकास, युवा स्वरोजगार कार्यक्रम, महिला सशक्तीकरण तथा विपन्न समुदायको उत्थानलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
उनका अनुसार आगामी आर्थिक वर्षमा सडक, नाला, खानेपानी, सिंचाइ, विद्युत विस्तार, सामुदायिक भवन निर्माण तथा अन्य आधारभूत पूर्वाधार विकासका योजनालाई पनि निरन्तरता दिइनेछ।
४२ करोड ७७ लाख २८० रुपैयाँको बजेट
नगरसभामा प्रस्तुत विवरणअनुसार सप्तकोशी नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ का लागि कुल अनुमानित आय–व्यय बजेट ४२ करोड ७७ लाख २८० रुपैयाँ रहेको छ। नगरपालिकाले संघीय सरकार, प्रदेश सरकार, आन्तरिक स्रोत तथा विभिन्न अनुदानमार्फत प्राप्त हुने स्रोतलाई आधार बनाएर बजेट निर्माण गरेको जनाएको छ।
प्रस्तुत बजेटले नगरभित्रका विकास निर्माणका कार्यलाई गति दिनुका साथै शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक विकासका कार्यक्रमलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
विषयगत शाखाहरूलाई बजेट सिलिङ
नगरसभाले विभिन्न विषयगत शाखाहरूका लागि बजेट सिलिङ समेत निर्धारण गरेको छ। जसअनुसार स्वास्थ्य शाखालाई ६० लाख रुपैयाँ, शिक्षा शाखालाई ४५ लाख रुपैयाँ, पशुपन्छी विकास शाखालाई २४ लाख रुपैयाँ, कृषि विकास शाखालाई ११ लाख रुपैयाँ, महिला तथा बालबालिका शाखालाई ७ लाख रुपैयाँ, रोजगार सेवा शाखालाई ६ लाख रुपैयाँ तथा लघु उद्यम विकास शाखालाई ६ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिकाका अनुसार यी कार्यक्रममार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार, विद्यालयको शैक्षिक गुणस्तर सुधार, किसानलाई प्राविधिक सहयोग, पशुपालन व्यवसायको प्रवर्द्धन, महिला तथा बालबालिकाको संरक्षण, बेरोजगार युवालाई रोजगारमूलक तालिम तथा उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिनेछ।
वडास्तरीय विकास योजनाका लागि ३ करोड ८८ लाख
नगरसभाले प्रत्येक वडाको आवश्यकता र जनसंख्यालाई आधार मानेर वडास्तरीय बजेट सिलिङ निर्धारण गरेको छ। वडा नं. १ लाई ५२ लाख ५२ हजार, वडा नं. २ लाई ३५ लाख ८७ हजार, वडा नं. ३ लाई ३३ लाख ६ हजार, वडा नं. ४ लाई ३६ लाख १५ हजार, वडा नं. ५ लाई ३३ लाख ५६ हजार, वडा नं. ६ लाई ३१ लाख २० हजार, वडा नं. ७ लाई ३१ लाख ८३ हजार, वडा नं. ८ लाई ३३ लाख २७ हजार, वडा नं. ९ लाई ३२ लाख २० हजार, वडा नं. १० लाई ३१ लाख ५४ हजार तथा वडा नं. ११ लाई ३६ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि कुल ३ करोड ८८ लाख रुपैयाँ छुट्याइएको छ। उक्त रकम सडक स्तरोन्नति, ढल तथा नाला निर्माण, खानेपानी, कृषि तथा साना पूर्वाधार विकासका योजनामा खर्च गरिने बताइएको छ।
राजनीतिक दलका प्रतिनिधिको सुझाव
नगरसभामा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले नगरको समग्र विकासका लागि साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
जनता समाजवादी पार्टीका नगर अध्यक्ष रामकुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष तुलाराम लुइटेल, नेकपा (एमाले) का नगर अध्यक्ष पारस दाहाल, नेपाली कांग्रेसका नगर सभापति युवराज खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव विनोद कुमार मेहता लगायतले विकास निर्माणका कार्यमा पारदर्शिता, जनसहभागिता र प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए।
उनीहरूले नगरपालिकाले ल्याएको बजेट जनमुखी र परिणाममुखी बन्नुपर्ने तथा बजेट कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए।
पत्रकार तथा नागरिक समाजको धारणा
कार्यक्रममा पत्रकार कैलाश माझीले शुभकामना मन्तव्य व्यक्त गर्दै स्थानीय सरकार जनताको आशा र भरोसाको केन्द्र भएकाले प्रत्येक योजना पारदर्शी, उत्तरदायी र जनपक्षीय हुनुपर्ने बताए। उनले विकास निर्माणका काममा गुणस्तर कायम गर्दै भ्रष्टाचार र अनियमितताप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्न आग्रह गरे।
त्यसैगरी उपस्थित समाजसेवी, बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए।
प्रमुख अतिथिको भनाइ
नगरसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा मधेश प्रदेश सरकारका निवर्तमान गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले स्थानीय सरकार नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको सरकार भएकाले जनताको आवश्यकता अनुसार काम गर्नुपर्ने बताए।
उनले विकास निर्माणका काममा पारदर्शिता, सुशासन र जवाफदेहितालाई प्राथमिकता दिन आग्रह गर्दै संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयबाट मात्रै दिगो विकास सम्भव हुने उल्लेख गरे। नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सफलतापूर्वक कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै उनले सप्तकोशी नगरपालिकाको समृद्धिको यात्रामा सबै पक्ष एकजुट हुनुपर्ने बताए।
धन्यवाद ज्ञापनसहित समापन
नगरसभा सदस्य विष्णु माया नेपाल र नवराज अधिकारीले सञ्चालन गरेको कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष तथा नगर प्रमुख कृष्ण प्रसाद ढकालले सम्पूर्ण अतिथि, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सुरक्षा निकाय तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।
उनले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, रोजगार तथा सामाजिक विकासका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जनअपेक्षा अनुरूपको सेवा प्रवाह सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
सप्तकोशी नगरपालिकाको १७औँ नगरसभाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै विकास, सुशासन, पारदर्शिता र समृद्धिको मार्गचित्र तय गरेको नगरपालिकाले जनाएको छ।
नगरसभाबाट पारित योजना तथा बजेटको प्रभावकारी कार्यान्वयन हुन सके सप्तकोशी नगरपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।