सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–१० गंगाजली पुलस्थित फत्तेपुर–कञ्चनपुर सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
दुर्घटना मिति २०८२ साल मंसिर २७ गते साँझ करिब ६:२० बजे भएको हो। कञ्चनपुरबाट फत्तेपुरतर्फ आउँदै गरेको ना ३ प २२६० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा साइकल चालक सप्तकोशी नगरपालिका–१० निवासी करिब ४१ वर्षीय फुलचन राम घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको र हाल स्थानीय किरण पोलिक्लिनिक, फत्तेपुरमा उपचार भइरहेको छ।
त्यस्तै, साइकलको पछाडि सवार सप्तकोशी नगरपालिका–११ निवासी करिब ४० वर्षीय शियाराम खड्काको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उनलाई थप उपचारका लागि विराट टिचिङ अस्पताल, विराटनगर लगिएको र अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा मोटरसाइकल चालक सप्तकोशी नगरपालिका–२ निवासी ठगालाल रामका छोरा करिब २८ वर्षीय निरज कुमार रामको पनि टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ।
मोटरसाइकलमा पछाडि सवार मदन विकका छोरा करिब २८ वर्षीय प्रम विकको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको छ। दुवै जनाको धर्मेश्वर अस्पताल, ठेलिया सप्तरीमा उपचार भइरहेको छ।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी फत्तेपुर सप्तरीबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरी चौकी फत्तेपुरको नियन्त्रणमा लिइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।