सप्तरीमा ३३ क्विन्टलभन्दा बढी गाँजासहित तीनवटा सवारीसाधन नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी,साउन ७।

कैलाश माझी : सप्तरी प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले ३३ क्विन्टल ६२ किलो ४६० ग्राम गाँजासहित तीनवटा सवारीसाधन नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विशेष सूचनाका आधारमा २०८३ साल साउन ७ गते राति करिब १ बजे प्रहरी निरीक्षक विजय कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित हनुमाननगरबाट रामपुर मल्हनियाँतर्फ जाने सडकखण्डमा चेकजाँच गरेको थियो।

सो क्रममा प्रहरीले तीनवटा सवारीसाधनमा लुकाइछिपाइ राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार बा.प्र.०१–०२५ च ०४३६ नम्बरको सेतो स्कारपियोबाट प्लास्टिकका १९ बोरामा रहेको ५ क्विन्टल २३ किलो ६४० ग्राम गाँजा बरामद भएको छ।

त्यस्तै, प्र.१–०४–००१ च १५०७ नम्बरको सेतो पिकअपबाट ४८ बोरा गाँजा बरामद भएको छ। उक्त गाँजाको तौल १६ क्विन्टल ६८ किलो ११० ग्राम रहेको प्रहरीले जनाएको छ।

यसैगरी, बा.प्र.०१–०२९ च ९५८६ नम्बरको सेतो पिकअपबाट ३३ बोरामा रहेको ११ क्विन्टल ७० किलो ७१० ग्राम गाँजा बरामद भएको छ।

प्रहरीले डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित कुल ३३ क्विन्टल ६२ किलो ४६० ग्राम गाँजा बरामद भएको जनाएको छ। प्लास्टिकका बोरा हटाउँदा गाँजाको वास्तविक तौल ३३ क्विन्टल ३२ किलो ४६० ग्राम रहेको प्रहरीले जनाएको छ।

प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएका तीनवटै सवारीसाधनसँगै लागुऔषध ओसारपसारमा प्रयोग भएको एक थान मोबाइल फोन समेत नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार गाँजा ओसारपसारमा संलग्न तीनवटै सवारीसाधनका चालकहरू भने प्रहरी टोलीलाई देखेपछि फरार भएका छन्। फरार चालकहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

बरामद लागुऔषध, सवारीसाधन तथा अन्य सामग्री जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।