राजविराज, भदौ ५ गते ।
कैलाश माझी : सप्तरीको राजविराज नगरपालिका–६ स्थित बागेश्वरी मन्दिर नजिकैको भित्री सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
राजविराजबाट सखडातर्फ जाँदै गरेको को १ ख ४६०७ नम्बरको खाली ट्रकले विपरीत दिशाबाट आउँदै गरेको स ११ प ५५८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको रुपनी गाउँपालिका–२, रामपुर निवासी अन्दाजी ५० वर्षीय भागवत प्रसाद शाह गम्भीर घाइते भएका थिए। उनको टाउको, अनुहार तथा काँधमा चोट लागेको थियो।
घाइते शाहलाई तत्काल उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचार आवश्यक देखिएपछि उनलाई विराटनगर रिफर गरिएको थियो।
विराटनगरस्थित न्युरो अस्पतालमा पुर्याई उपचार भइरहेको अवस्थामा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक सुनसरीको इनरुवा नगरपालिका–५ निवासी ४४ वर्षीय पर्शुराम भोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।