राजविराज, भदौ १८ गते ।
कैलाश माझी : सप्तरी प्रहरीले अदालतबाट कैद तथा जरिवाना तोकिएपछि लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सवारी अंगभंग मुद्दामा ४ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएका लुद्रा भन्ने ओमप्रकाश विश्वकर्मा पक्राउ परेका हुन्।
विश्वकर्माको स्थायी वतन सप्तरीको तत्कालीन भंगाहा गाविस–५, हाल शम्भुनाथ नगरपालिका–७ रहेको प्रहरीले जनाएको छ।
अदालतबाट फैसला भएपछि वारदातपश्चात फरार रहेका विश्वकर्माको खोजतलासका लागि इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीबाट प्रहरी टोली परिचालन गरिएको थियो। खोजी तथा अनुसन्धानका क्रममा प्रहरीले उनलाई फेला पारी पक्राउ गरेको हो।
प्रहरीका अनुसार २०८३ भदौ १७ गते पक्राउ परेका विश्वकर्मालाई फैसला कार्यान्वयनका लागि सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको छ।
सप्तरी जिल्ला अदालतको फैसलाअनुसार विश्वकर्माले ४ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने तथा ३० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।