उदयपुरको जहडामा अटो–बस दुर्घटना : दुईको मृत्यु, तीन घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

उदयपुर, भदौ ८ गते ।

कैलाश माझी : उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा अटोमा सवार बेलका नगरपालिका–५ मैनी निवासी ३४ वर्षीया मन्दिरा मगर र अर्की एक जना महिलाको मृत्यु भएको छ। मृतक महिलाको नाम, उमेर तथा ठेगाना भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै महिलालाई तत्काल उद्धार गरी स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा अस्पताल पठाइएको थियो। उपचारकै क्रममा बिहान ११ः४५ बजे दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ मैनीका २८ वर्षीय इन्द्र थापा मगर र सोही स्थानका १८ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन्। त्यस्तै मोरङको विराटनगर महानगरपालिका–१२ निवासी १९ वर्षीय अजित गुरुङ मध्यम घाइते भएका छन्।

घाइते तीनै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो।

दुर्घटनामा संलग्न अटो प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ भने बस र बस चालक बेलका नगरपालिका–५ घुम्ने निवासी करिब ३६ वर्षीय विक्रम थापालाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।