युवतीमाथि अभद्र व्यवहारको भिडियो भाइरल, विराटनगरबाट दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, भदौ १९ गते ।

कैलाश माझी : सार्वजनिक स्थलमा विद्यालय पोशाकमा हिँडिरहेका दुई युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ भदौ १९ गते दिउँसो करिब १२ः३० बजे विराटनगर महानगरपालिका–९ स्थित महेन्द्रचोकमा मोटरसाइकलमा सवार दुई पुरुषले सडकमा हिँडिरहेका विद्यालय पोशाकमा रहेका दुई युवतीलाई अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

उक्त भिडियो प्रहरीसमक्ष प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली परिचालन गरी भिडियोमा देखिएका व्यक्तिहरूको खोजतलास गरिएको थियो। खोजीका क्रममा प्रहरीले उनीहरूलाई विराटनगरबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ बस्ने ३५ वर्षीय महेश कुमार मण्डलबारा, परवानीपुर गाउँपालिका–१ घर भई हाल विराटनगर बस्ने ३३ वर्षीय अखिलेश कुमार प्रसाद रहेका छन्।

प्रहरीले उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।