१०१ ग्राम ५३० मिलिग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ बाट लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर, काठमाडौंले २०८३ असोज २१ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतको फत्तेपुर क्षेत्रबाट सुनसरीको देवानगञ्ज हुँदै सीमावर्ती नाका भएर लागूऔषध खैरो हेरोइन भित्र्याई कोशी प्रदेशका पहाडी जिल्लालाई केन्द्र बनाएर बिक्री–वितरण गर्ने गिरोहबारे गोप्य सूचना संकलन गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका–११ स्थितबाट १०१ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन सहित तीन जनालाई पक्राउ गरेको ब्यूरोले जनाएको छ।

पक्राउ पर्नेमा भारतको अररिया जिल्ला, नरपतगञ्ज ठेगाना भएका २३ वर्षीय रिजवान अहमद इदरीशी, सुनसरीको देवानगञ्ज गाउँपालिका–२ का २३ वर्षीय आरविन्द्र यादव र सोही स्थानका २३ वर्षीय अनिल यादव रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट १०१ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन र तीन थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

ब्यूरोका सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक जीवन निरौलाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।