६०५ ग्राम गाँजासहित पक्राउ परेका व्यक्तिको बयानपछि थप २ किलो गाँजा बरामद, दुई जना नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बर्दिबास, महोत्तरी 

कैलाश माझी : महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार असार १३ गते दिउँसो करिब ३:३० बजे बर्दिबास नगरपालिका–१० बनपथस्थित सार्वजनिक स्थानमा शंकास्पद अवस्थामा बसेका स्थानीय ४३ वर्षीय शिव सुनदासलाई प्रहरी चौकी खयरमाराबाट खटिएको गस्ती टोलीले चेकजाँच गरेको थियो।

जाँचका क्रममा उनले बोकेको रातो झोलाभित्रबाट झोलासहित ६०५ ग्राम तथा झोला बाहेक ५५० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा शिव सुनदासको बयानका आधारमा प्रहरीले बर्दिबास नगरपालिका–११ तमाङ टोलस्थित ६१ वर्षीया विखी माया मोक्तानको घरमा खानतलासी गरेको थियो। सो क्रममा सेतो बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा बोरासहित २ किलो २०० ग्राम तथा बोरा बाहेक २ किलो १५ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजासहित विखी माया मोक्तानलाई पनि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार महोत्तरी जिल्ला अदालतबाट असार १४ गते पाँच दिनको म्याद थप अनुमति लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।