झापा,साउन १६।
कैलाश माझी : झापाको कन्काई नगरपालिका–२ स्थित एस फुल सेकुवा कर्नरबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा उक्त स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा वडा नं. ७ तकियाटोल निवासी २८ वर्षीय महमद एहवाल र सोही जिल्लाको कुरसाकट्टा वडा नं. ८ छिप्टिया टोल निवासी २७ वर्षीय अझर अन्सारी रहेका छन्।
प्रहरीले एस फुल सेकुवा कर्नरमा रहेका दुवै जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथमा रहेको रातो रङको प्लास्टिकको बोराभित्रबाट १०२.३१० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ७,२०० वटा TRAMADOL क्याप्सुल तथा ७,४५० वटा NITZASCEN ट्याब्लेट बरामद गरेको जनाएको छ।
यसका साथै उनीहरूको साथबाट दुई थान एन्ड्रोइड मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका दुवै जनामाथि लागुऔषध (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान जारी रहेको जानकारी दिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।