बाढी उद्धारमा खटिएका सुरक्षाकर्मीमाथि अफवाह फैलाइएको भन्दै प्रहरीको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, भदौ २३ 

कैलाश माझी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा खटिएका सुरक्षाकर्मीमाथि सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण तथा तथ्यहीन अफवाह फैलाइएको भन्दै नेपाल प्रहरीले गम्भीर आपत्ति जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरू जोखिम मोलेर प्रभावित नागरिकको उद्धार, बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, फेला परेका शवको व्यवस्थापन तथा राहत सामग्री वितरणलगायतका मानवीय कार्यमा निरन्तर खटिरहेका छन्।

पछिल्लो समय सामाजिक सञ्जालमा ‘आर्मी–पुलिसले राहत सामग्री आफैं लिए’, ‘राहत वितरण गरेनन्’ तथा ‘राहत सामग्री सड्किए’ भन्ने आशयका सामग्री तथा अफवाह फैलाइएको भन्दै प्रहरीले त्यस्ता आरोपप्रति ध्यानाकर्षण भएको जनाएको हो।

प्रहरीले नेपाल प्रहरीसँग कुनै पनि राहत सामग्री भण्डारण नरहेको स्पष्ट पार्दै विपद्को समयमा उद्धार तथा राहत कार्यमा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीहरूको मनोबलमा प्रतिकूल असर पर्ने तथा आम नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना हुने किसिमका कपोलकल्पित आरोप र अफवाह फैलाउनु गैरजिम्मेवार कार्य भएको जनाएको छ।

प्रहरीका अनुसार यस्ता अपुष्ट तथा भ्रामक सूचनाले विपद् व्यवस्थापनजस्तो संवेदनशील कार्यसमेत प्रभावित पार्न सक्ने भएकाले नागरिकलाई तथ्य पुष्टि गरेर मात्रै सूचना सार्वजनिक गर्न आग्रह गरिएको छ।

नेपाल प्रहरी लगायतका सुरक्षा निकाय विपद्को समयमा नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र मानवीय सेवामा प्रतिबद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने तथा आम नागरिकमा भ्रम सिर्जना गर्ने किसिमका अफवाह र अपुष्ट सूचनाको प्रचार–प्रसार नगर्न सबैमा हार्दिक अनुरोध गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।