काठमाडौं, असोज ९ गते ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका १४ थान हाते ट्र्याक्टर (पावर टिलर) सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
काठमाडौंको स्वयम्भू क्षेत्रमा हाते ट्र्याक्टर चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास तथा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले असोज ८ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बाट चोरीका पावर टिलरसहित पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–५ छालिङका ४१ वर्षीय राजु मचामसी, २१ वर्षीय राजेश मचामसी र १९ वर्षीय राजन मचामसी रहेका छन्।
त्यस्तै, रौतहट रोहा नगरपालिका–५ घर भई भक्तपुरको बोडेमा कवाड सञ्चालन गर्दै आएका ३५ वर्षीय राजेश्वर जैसवाल र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–४ घर भई कवाड सञ्चालन गर्दै आएका ४८ वर्षीय बिपिन कुमार शाही पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट चोरी भएका १४ थान पावर टिलर तथा बा.३१ प.को २१५९ नम्बरको मोटरसाइकल समेत फेला पारेको जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई चोरी तथा चोरीका ट्र्याक्टर खरिद–बिक्रीमा संलग्न रहेको सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।