सप्तरी, असोज ९ गते ।
कैलाश माझी : भारी वर्षा, चट्याङ, हावाहुरी तथा बाढी–पहिरोको सम्भावनालाई मध्यनजर गर्दै सप्तकोशी नगरपालिकाले नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
सप्तकोशी नगरपालिका नगर कार्यपालिकाको कार्यालयले २०८३ असोज ९ गते जारी गरेको सूचनामा नेपाल मौसम तथा विज्ञान विभागद्वारा जारी विशेष मौसम बुलेटिनअनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
सूचनामा केही स्थानमा अति भारी वर्षासमेत हुनसक्ने र भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने उल्लेख गरिएको छ। नगरपालिकाले सम्भावित विपद्बाट बच्न आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन नगरवासीलाई आग्रह गरेको हो।
नगरपालिकाले अत्यन्त जरुरी कामबाहेक टाढाको यात्रा तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। त्यस्तै खोला तथा नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन भनिएको छ।
जोखिमयुक्त स्थानमा रहेका ज्येष्ठ नागरिक, बालबालिका, महिला, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहिलो प्राथमिकता दिन नगरपालिकाले आग्रह गरेको छ।
वर्षा तथा बाढीका कारण सम्भावित महामारी र रोग फैलिन नदिन आवश्यक स्वास्थ्य सुरक्षा उपाय अपनाउनसमेत नगरपालिकाले अनुरोध गरेको छ।
नगरपालिकाले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् मद्दतका लागि १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल नेपालको हटलाइन १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ।
त्यस्तै स्थानीय स्तरमा आवश्यक सहयोगका लागि प्रहरी चौकी फत्तेपुर : ९८५२८९०३७५, सशस्त्र प्रहरी बल फत्तेपुर क्याम्प : ९८५१२५८६८२, नेपाल आर्मी भगनी पोस्ट : ९८२१४९४९८२, एम्बुलेन्स सेवा : ९८५६१०३४१४ र विपद् फोकल पर्सन : ९८५२८६००१९ मा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ।
नगर प्रमुख कृष्ण प्रसाद ढकालद्वारा जारी सूचनामा सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै नगरवासी, स्थानीय निकाय तथा सम्बन्धित सुरक्षा निकायलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।