गृह मन्त्री सुदन गुरुङको राजीनामा : नैतिकताको आधारमा पद त्याग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ — गृह मन्त्री सुदन गुरुङले आफ्नो शेयर सम्बन्धी विषयमा उठेका जनचासो र प्रश्नहरूलाई मध्यनजर गर्दै पदबाट राजीनामा दिएका छन्। उनले मिति २०८२ चैत १३ गतेदेखि सम्हाल्दै आएको गृह मन्त्रालयको जिम्मेवारी आजकै मितिदेखि लागू हुने गरी त्याग गरेको घोषणा गरेका हुन्।

गुरुङले सार्वजनिक वक्तव्य जारी गर्दै पछिल्ला दिनहरूमा नागरिक स्तरबाट उठेका टिप्पणी र जिज्ञासालाई आफूले गम्भीरतापूर्वक लिएको बताएका छन्। “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले बताएका छन्।

उनका अनुसार देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेन–जेड पुस्ताको आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने सन्देश दिएको छ। साथै, उनले आफू संलग्न विषयमा निष्पक्ष छानबिन होस् भन्ने चाहना राख्दै पदमा रहँदा कुनै स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्।

गुरुङले सरकार ४६ जना सहिदहरूको रगत र बलिदानीबाट निर्माण भएको उल्लेख गर्दै यस्तो सरकारमाथि उठ्ने हरेक प्रश्नको जवाफ नैतिकतामै हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

उनले आफूले नैतिक जिम्मेवारी पूरा गरेको दाबी गर्दै सञ्चारकर्मी, आम नागरिक तथा युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आह्वान गरेका छन्। साथै, केही सञ्चारकर्मीहरूको शेयर सम्बन्धी विषय पनि क्रमशः सार्वजनिक हुन सक्ने संकेत गर्दै पारदर्शिताका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्।

उनको राजीनामापछि सरकार र राजनीतिक वृत्तमा यसको प्रभावबारे व्यापक चासो बढेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।