मोटरसाइकलमा ओसार्दै गरेको ४ किलो सहित दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुकुम पूर्व
रुकुम (पूर्वी भाग) प्रहरीले करिब चार किलोग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) का अनुसार असार १६ गते साँझ करिब ६:३० बजे सिस्ने गाउँपालिका–६ खोपिचारस्थित मध्यपहाडी लोकमार्गमा अस्थायी प्रहरी पोष्ट खोपिचारबाट प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको कमाण्डमा खटिएको तीन सदस्यीय प्रहरी टोलीले नियमित सवारी चेकजाँच गरिरहेको थियो।

सोही क्रममा रुकुम पश्चिमबाट रुकुमकोटतर्फ आउँदै गरेको लु प्र ०१–०११ प १४७१ नम्बरको पल्सर २२० मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकलमा सवार दुई जनाको साथबाट करिब ४ किलोग्राम अफिमजस्तो देखिने लेदो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा रुकुम (पूर्वी भाग)को भूमे गाउँपालिका–२ निवासी करिब ४० वर्षीय विरोध बुढा तथा रोल्पाको थवाङ गाउँपालिका–२ निवासी करिब ३१ वर्षीया जानपुरा झाक्री मगर रहेका छन्।

बरामद गरिएको अफिमजस्तो देखिने पदार्थ, प्रयोग गरिएको मोटरसाइकल तथा पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग)मा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन रुकुमकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरिसकेको छ। बरामद गरिएको पदार्थको प्रकृति तथा यसको स्रोत, गन्तव्य र सम्भावित संलग्न अन्य व्यक्तिहरूबारे समेत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग)ले लागूऔषधको अवैध उत्पादन, ओसारपसार तथा कारोबार नियन्त्रणलाई प्राथमिकतामा राखी निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।